जेन–जी आन्दोलनताका नियन्त्रणमा आइसकेको हैजा संक्रमण फेरि बढ्न थालेपछि वीरगन्जवासी त्रसित बनेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार, पछिल्लो एक महिनामा पर्सा जिल्लामा २ सय ३८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय २० जना वीरगन्ज महानगर क्षेत्रका र १८ जना पोखरिया नगरपालिकाका हुन् । हाल दुई संक्रमितको उपचार वीरगन्जका विभिन्न अस्पतालमा भइरहेको छ ।
उक्त अवधिमा जिल्लाभर झाडापखाला र हैजाका बिरामी गरेर १ हजार ४ सय ८४ जना अस्पताल भर्ना भएका थिए। तीमध्ये १ हजार ४ सय ५० जना उपचारपछि घर फर्किएका छन् भने ३४ जना अझै उपचाररत छन् ।
मृत्युबारे विवाद
सुरुमा स्थानीय प्रशासनले हैजाबाट मृत्यु नभएको दाबी गरे पनि नारायणी अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा एक महिला र एक पुरुषको झाडापखालासँग मिल्दोजुल्दो लक्षणका कारण मृत्यु भएको थियो । प्रयोगशाला परीक्षणबिनै उनीहरूको अन्त्येष्टि गरियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा वीरगन्जमा हैजाका कारण तीन जनाको मृत्यु भएको जानकारी गराएका थिए । तर, सरकारी निकायले हालसम्म हैजाबाट एक जनाको पनि मृत्यु भएको आधिकारिक पुष्टि गरेको छैन ।
संक्रमणको स्रोत अझै अज्ञात
हैजाको प्रकोप फैलिएसँगै यसको स्रोतबारे खानेपानी संस्थानको पानी वा नयाँ खन्न थालेका डिप बोरिङको पानीलाई शंका गरिएको थियो । तर वीरगन्ज महानगर र संघीय ढल निकास तथा व्यवस्थापन विभागले गरेका विभिन्न प्रयोगशाला परीक्षणमा खानेपानीमा हैजाको जीवाणु भेटिएन ।
विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफका विज्ञ टोलीले समेत वीरगन्जका विभिन्न स्थानको पानी परीक्षण गर्दा हैजाको जीवाणु पत्ता लगाएन । यसरी पटकपटक परीक्षण गर्दा पनि पानी आपूर्ति प्रणाली स्वच्छ देखिएपछि घर–घरमा स्थानीयले प्रयोग गर्ने भण्डारण भाँडो फोहोर हुँदा संक्रमण फैलिएको अनुमान विशेषज्ञहरूले गरेका छन् ।
झाडापखाला दोहोरिएर
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार हाल सातायता पुनः हैजा र झाडापखालाका बिरामी बढेका छन् । दिनमा १२–१५ देखि २०–२२ जना बिरामी अस्पताल आइरहेका छन् । पहिलो पटक उपचार गरेर फर्किएका बिरामी पनि फेरि सोही लक्षणसहित फर्किन थालेका छन् ।
उनका अनुसार हाल वीरगन्जमा लगातार वर्षा भइरहेको र नालामा रहेका हैजाका जीवाणु पाइपको लिकेजमार्फत खानेपानीमा मिसिन सक्ने सम्भावना छ ।
सचेतनामा कमी
जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता जयमोद ठाकुरले स्थानीय आफैं सचेत नभएसम्म हैजा नियन्त्रणमा आउन नसक्ने बताए । उनले पानी उमालेर वा पियूष हालेर मात्रै खाने बानी बसाल्न आग्रह गरे ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पछिल्लो केही दिनयता संक्रमण घट्दो क्रममा रहेको दाबी गर्दै स्थलगत अनुगमनमा कतिपय घरका भण्डारण भाँडो नै प्रदूषित भेटिएकाले शुद्धीकरणका उपाय अपनाइएको जानकारी दिए ।
तर, हैजाको स्रोतबारे अझै विस्तृत अध्ययन हुनुपर्नेमा सरोकारवालाहरू एकमत छन् ।