रौतहटको वृन्दावन नगरपालिकास्थित बागमती नदीमा घटस्थापनाको अवसरमा कलश शोभा यात्रामा सहभागी एक किशोर डुबेर बेपत्ता भएका छन् ।
वृन्दावन–३ विश्रामपुरका १३ वर्षीय रोशन यादव सोमबार बिहान दुर्गा पूजाको कलश यात्रामा सहभागी हुन हनुमान चौक पुगेका थिए। स्नान गर्ने क्रममा खोलाको गहिरो खाडलमा परेर उनी बेपत्ता भएको प्रहरीको अनुमान छ ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडा र समनपुर, विश्रामपुर र धरमपुर प्रहरी चौकी, सशस्त्र प्रहरी बल समनपुर क्याम्पका सुरक्षाकर्मी तथा स्थानीयवासीको सहभागितामा खोजी कार्य सुरु गरिएको हो । तर, २४ घण्टा बितिसक्दा पनि रोशनको अवस्थाबारे कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यले जानकारी दिए ।
प्रहरीका अनुसार रमौली घाटदेखि धरमपुर घाटसम्म खोजी गर्दा पनि कुनै सुराक नलागेपछि सोमबार बेलुकी अँध्यारो भएपछि खोजी स्थगित गरिएको थियो । मंगलबार बिहानैदेखि भने पुनः व्यापक खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ ।
दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा नदी वा खोलाबाट जल ल्याउने परम्परा रहिआएको छ । यही क्रममा बागमती नदीमा स्नानका लागि पुगेका रोशन बेपत्ता भएका हुन् ।