लामो समयपछि मधेस प्रदेश सभा आज बस्दैछ । जेनजी आन्दोलनपश्चात पहिलोपटक बस्न लागेको प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ ।
सभामुख रामचन्द्र मण्डलका अनुसार मंगलबारको बैठक दुई मुख्य कार्यसूचिमा केन्द्रित रहनेछ। पहिलो, जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति शोक प्रस्ताव पारित गर्ने र दोस्रो, अधिवेशन सुरु भएको अवसरमा शुभकामना मन्तव्य प्रस्तुत गर्ने अजेन्डा रहेको छ ।
मण्डलले दुवै विषयमा दलका नेतासहित प्रदेश सांसदलाई आफ्नो धारणा राख्न समय दिने व्यवस्था गरिएको जानकारी दिएका छन् । बैठकमा अन्य प्रस्तावहरू भने आगामी बैठकमा ल्याइने तयारी प्रदेश सभा सचिवालयले जनाएको छ ।