आज बडा दसैँ तथा नवरात्रको तेस्रो दिन देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्टा धारण गर्ने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।
विश्वास अनुसार, चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रमा विशेष पूजा गर्ने परम्परा रहेको छ । दुर्गा पक्ष भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
यीनै नौ रुपलाई नवदुर्गा भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा, विशेषगरी बारा लगायतका जिल्लामा, चन्द्रघण्टा देवीको दर्शन र पूजा गर्न भक्तजनहरूको भीड लागेको छ ।