काठमाडौं महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हालसम्म १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको छ ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै करिब १० करोड लागतमा ६२ वटा ‘हाई मास्ट लाइट’ जडान गर्ने योजना अगाडि बढाइएको र त्यसमध्ये १२ वटा जडान भइसकेको बताए। उनका अनुसार बाँकी लाइट पनि दसैँअघि नै जडान गरिनेछ ।
मुलुकको राष्ट्रिय बसपार्क (नयाँबसपार्क) क्षेत्रमा हालसम्म दुईवटा ‘हाई मास्ट लाइट’ जडान भइसकेको छ । नयाँबसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार कुल तीनवटा ‘हाई मास्ट लाइट’ जडान गर्ने योजना रहेकामा दुईवटा जडान भइसकेका छन् ।
यसअघि अघिल्लो कार्यकालमा राखिएका तर नबलेका करिब दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल सञ्चालनमा ल्याइएको प्रमुख शाहले बताएका छन् । उनले करिब ८५ करोड लागतमा स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणमा पुगेको जानकारी पनि दिए ।
प्रमुख शाहका अनुसार यी सबै काम सम्पन्न भएसँगै ‘उज्यालो महानगर’ निर्माण हुनेछ ।