सप्तरी | जेएनजे आन्दोलनका क्रममा सप्तरीमा भएको हिंसात्मक गतिविधिबाट ठूलो आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, जिल्लामा पार्टी कार्यालय, नेता र जनप्रतिनिधिका घरमा भएको तोडफोड र आगजनीबाट ७६ करोड ४६ लाख ४७ हजार ९८ रुपियाँ बराबरको क्षति भएको छ ।
प्राप्त विवरणअनुसार, राजविराजस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा सबैभन्दा बढी ३२ लाख ६२ हजार ५ सय बराबरको सम्पत्ति नष्ट भएको छ । जनमत पार्टीको जिल्ला कार्यालयमा १७ लाख २८ हजार ७ सय ५०, कञ्चनरुप नगरपालिकास्थित नेकपा एमाले पार्टी कार्यालयमा १४ लाख ५३ हजार ५ सय रुपैयाँको क्षति भएको छ ।
त्यसैगरी, राजविराजस्थित जसपा नेपालको जिल्ला पार्टी कार्यालयमा १० लाख ६३ हजार ७ सय ६५, कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको घरमा १० लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ । नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा ५ लाख ५० हजार, नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा ४ लाख ४१ हजार बराबरको क्षति भएको छ ।
यस्तै, माओवादी नेता एवं पूर्व मन्त्री उमेश यादको घरमा ५ लाख, एमाले नेता सुमन प्याकुरेलको घरमा १ लाख ४१ हजार, र सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालको घरमा ५ हजार रुपैयाँ बराबरको तोडफोड भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए अनुसार, अहिलेसम्म प्राप्त विवरणअनुसार जिल्लास्थित पालिका र सरकारी कार्यालयमा पनि ७५ करोड ४५ लाख २ हजार ८३ रुपैयाँ बराबरको क्षति भएको छ ।
नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलले भने, आन्दोलनमा संलग्न केही व्यक्तिहरूले व्यक्तिगत र राजनीतिक प्रतिशोधका कारण पार्टी कार्यालय, सरकारी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरेका छन् ।