आज नवरात्रको पाँचौँ दिन हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिरहेका छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सधैँ काखमा राखेर ममतामयी स्नेह प्रदान गर्ने भएकाले देवीलाई स्कन्दमाता नामले पुकारिन्छ। ज्ञानशक्ति र कर्मशक्तिकी देवीका रूपमा स्कन्दमातालाई चिनिन्छ । धार्मिक मान्यताअनुसार सूर्य मण्डलकी अधिष्ठात्री भएकाले उनी सूर्यकै जस्तै देदिप्यमान वर्णकी हुने बताइन्छ ।
दशैंमा नवदुर्गाका विभिन्न नौ रूपहरूको पूजा गर्ने परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
नवरात्रभर देशभरका शक्तिपीठहरूमा विशेषगरी बारा जिल्लालगायतका क्षेत्रमा पूजाआराधना र दर्शनका लागि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ । भक्तजनहरूले देवीको दर्शन गरी आफ्नो इच्छाआकाङ्क्षा पूरा हुने विश्वासका साथ पूजाआराधना गर्ने परम्परा छ ।