बारामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । शुक्रबार राति करिब साढे ७ बजे कलैया उपमहानगरपालिका–१४ बघवनस्थित कलैया–बरियारपुर सडक खण्डमा दुर्घटना भएको हो ।
प्रदेश २-०३-०१६ प ४७३ नम्बरको मोटरसाइकल र बीआर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । भारतीय मोटरसाइकलमा ४ जना सवार रहेका थिए ।
दुर्घटनामा महागढीमाई नगरपालिका–१ का १८ वर्षीय चालक अफताब आलम र सोही मोटरसाइकलमा सवार १८ वर्षीय समसाद देवान घाइते भएका छन् । आलमको अनुहार र दुवै खुट्टामा चोट लागेको छ भने देवानको दाहिने खुट्टा र ओठमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै, अर्को मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–११ कचोर्वाका ३५ वर्षीय किशोरी साह घाइते भएका छन् । उनको टाउको, अनुहार र खुट्टामा चोट लागेको छ । सोही मोटरसाइकलमा सवार उनका १३ वर्षीय छोरा कौशल साह, १२ वर्षीय कृष्ण साह र ३७ वर्षीया जुही साह समेत घाइते भएका छन् ।
जुही साहको टाउकोमा गम्भीर चोट लागेपछि थप उपचारका लागि वीरगञ्जस्थित एनएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको उपचार कलैया प्रा.लि. अस्पतालमा भइरहेको छ ।
दुवै मोटरसाइकल इलाका प्रहरी पोष्ट बसपार्क बाराको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।