हुलाकी सडकखण्डअन्तर्गत सर्लाहीको ब्रहम्पुरीमा गएराति स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ८ बजे पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एमएच ०४ डिजे १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकलमा तीनजना सवार थिए ।
ठक्करबाट ब्रहम्पुरी–२ का २३ वर्षीय चालक अंकित चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा जनकपुरस्थित राम जानकी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, मोटरसाइकलमा सवार सोही स्थानका २५ वर्षीय रोहित सहनीको पनि गएराति नै मृत्यु भएको हो । दुबै जनाको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय शिवशंकर पण्डित घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि बारा जिल्लास्थित एलएस न्युरो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि स्कारपियो चालक फरार रहेका छन् । ठक्कर दिइएको स्कारपियो र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।