जनकपुरधाम | मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको छ । जनमत पार्टीका नेता महेश यादवले कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको पुष्टि गरेका छन् ।
उनका अनुसार विभिन्न चरणको छलफलपछि नेपाली कांग्रेसलाई नेतृत्व दिँदै चार दलको समीकरणमा नयाँ सरकार गठन गर्ने निर्णय भएको हो । यस समीकरणमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोसपा सामेल छन्।
यादवले बताएअनुसार, प्रदेश प्रमुख आएपछि बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार निर्माणको लागि पत्र पेश गरिनेछ। “प्रदेश प्रमुख काठमाडौँमा हुनुहुन्छ। उहाँ आजै जनकपुर फर्किने सम्भावना छ। उहाँ फर्किए आजै, नत्र भोलिसम्म बहुमतको हस्ताक्षरसहित पत्र पेश गर्ने तयारी छ,” उनले बताए ।
मुख्यमन्त्री कांग्रेसलाई दिने भए तापनि कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने विषयमा भने सहमति भइनसकेको उनले बताए ।
जनमतले यही असोज २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो। कांग्रेसले गत बुधबार सरकारबाट समर्थन फिर्ता लिँदा सतिस सिंहको सरकार अल्पमतमा परेको थियो ।
मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ। नयाँ समीकरणअनुसार प्रदेश सभामा कांग्रेसका २२, एमालेका २४ (सभामुखसहित, एकजना निलम्बनबाहेक), जनमतका १३ र लोसपाका ८ सांसद छन्। यो संख्यालाई आधार मान्दा नयाँ सरकार गठनका लागि पर्याप्त बहुमत रहेको देखिन्छ ।