जनकपुरधाम । जेनजी आन्दोलनपश्चात पहिलोपटक गृहनगर धनुषा आएका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले शनिबार आन्दोलनका क्रममा आगो लगाइएका विभिन्न स्थलहरूको अवलोकन गरेका छन् ।
आज जनकपुरधाम आएका नेता निधिले सबैभन्दा पहिले धनौजी गाउँपालिकामा पुगेर पूर्व गाउँपालिका अध्यक्ष बद्री सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसपछि उनी मधेस प्रदेशसभा भवन पुगेका थिए र आन्दोलनका क्रममा आगो लगाएर क्षति पुर्याइएका विभिन्न स्थानको निरीक्षण गरेका छन् ।
निधिले अवलोकन गरेका स्थलहरूमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कार्यालय, मधेस प्रदेश कार्यालय, नेकपा एमाले नेता एवं पूर्वमन्त्री रघुवीर महासेठको निवास, कांग्रेस नेता एवं पूर्वमन्त्री महेन्द्र यादवको घर, एमाले नेता दिपेन्द्र ठाकुरको घर, कांग्रेस नेता रामकृष्ण यादवको घरलगायतका स्थानहरू छन् ।
नेता निधि जनकपुरधाम मिल्स एरियास्थित आफ्नै निवासमा केही समय बिताएर आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।