वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–८, औराहा पचगावामा थारु कल्याणकारी सभा पर्साले विजयादशमी, दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयमा शनिबार आयोजित कार्यक्रममा थारु कल्याणकारी सभा पर्साका अध्यक्ष भागवत चौधरी थारुको अध्यक्षता तथा सभाका केन्द्रीय सदस्य महेन्द्र चौधरी थारुको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा अध्यक्ष भागवत चौधरी थारुले चाडपर्वहरू केवल संस्कृतिको पहिचान मात्र नभई सामाजिक एकता र सद्भाव कायम गर्ने माध्यम भएको बताए । उनले चाडपर्वले परिवार, छिमेकी र समाजलाई नजिक ल्याउने उल्लेख गर्दै मर्यादित, अनुशासित र भव्य ढंगले पर्व मनाउनुपर्नेमा जोड दिए ।
प्रमुख अतिथि महेन्द्र चौधरी थारुले चाडपर्वलाई मनोरञ्जनका रूपमा मात्रै होइन, संस्कृतिको धरोहरका रूपमा आत्मसात् गर्नुपर्ने बताए । उनले भने, “हाम्रो समाजमा विविधता छ, तर चाडपर्वहरूले हामीलाई एउटै डोरीमा बाँध्ने काम गर्छन् । आगामी पुस्ताले यसको वास्तविक मूल्य बुझेर अघि बढ्नुपर्ने आवश्यकता छ ।”
यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महतो थारु, थारु कल्याणकारी सभा पर्साका उपाध्यक्ष राजु चौधरी थारु, मोहन दास थारु, अधिवक्ता अभय दास थारु र सचिव मनोज चौधरी थारुले समेत चाडपर्वले ल्याउने सामाजिक, सांस्कृतिक र ऐक्यबद्धताको सन्देशबारे आफ्ना विचार व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारुको विशेष पहलमा आयोजना गरिएको कार्यक्रमको संयोजन थारु समाज पर्सा परिवारले गरेको थियो ।