सप्तरी । विजयादशमीको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध आराध्यदेवी छिन्नमस्ता भगवती मन्दिरमा पूजापाठ एवम् दर्शन गरेका छन् ।
आइतबार बिहान उनले करिब १० मिनेटसम्म मन्दिरको गर्भगृहमा बस्दै प्रदेशको समृद्धि, विकास र जनकल्याणको कामना गर्दै पूजाआजा गरेका थिए । मुख्यमन्त्री सिंहलाई मन्दिरका पीठाधीश महकान्त ठाकुरले विशेष विधिपूर्वक पूजापाठ गराएका थिए ।
पूजापाठपछि मुख्यमन्त्री सिंहले मन्दिर परिसरमा रहेको शनि मन्दिर, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, कालभैरव मन्दिर र हनुमान मन्दिरमा पनि दर्शन गरेका छन् । साथै परिसरभित्रको पोखरी, पिकनिक स्थल र धर्मशालाबारे समेत पीठाधीश ठाकुरले जानकारी दिएका थिए ।