बारा । बारामा सशस्त्र प्रहरीले अबैध रुपमा ल्याइएका कपडा र पटाका बरामद गरेको छ । आदर्शकोतवाल गाउँपालिका–१ बोहा जमुनियास्थित सडकबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाँ बराबरको सामानसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बेस क्याम्प तेलकुवाबाट नायब निरीक्षक संजयकुमार यादवको नेतृत्वमा खटिएको टोलीले कोतवालीबाट लङ्गडा चोकतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च ६१७६ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा बिल–बिजक नभएको १५ लाख ८५ हजार ५०० रुपैयाँ बराबरको लेडिज रेडिमेड कपडा र ५० हजार मूल्य बराबरको ६० बन्डल नागिन पटाका बरामद गरेको हो ।
बरामद गाडीको मूल्य समेत करिब २० लाख रुपैयाँ हुने सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए । बरामद कपडा र गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको र बरामद पटाका भने खाल्डोमा पुरेर नष्ट गरिएको केसीले बताए ।