महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण अभियान सुरु भएपछि वन्यजन्तु र चराचुरुङ्गीको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ ।
कालापानी बस्तीका करिब २१० परिवार उपभोक्ता रहेका यी दुई सामुदायिक वनमा चरीचरण र सिकार पूर्णरूपमा बन्द गरिएपछि वन संरक्षणमा सकारात्मक नतिजा देखिएको हो । कालीदमार सामुदायिक वन ३५९ हेक्टर र रातु महिला सामुदायिक वन ३५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । विशेषतः महिलाको सक्रिय सहभागितामार्फत संरक्षणमा नयाँ पहलकदमी देखिएको छ ।
कालीदमार सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर रायमाझीका अनुसार चरीचरण पूर्णरूपमा रोकिएपछि सालका बिरुवा राम्रोसँग उम्रिएका छन् । वन क्षेत्रमा बहुमूल्य साल करिब ४० प्रतिशतभन्दा बढी रहेको उनले बताए । साथै, संरक्षणपछि मयुर, लुइँचेपक्षी, मृग, हरिण, दुम्सी, नीलगाई र बँदेलको सङ्ख्या बढेको छ । कालापानी उद्यानका हरिण मान्छेसँग खेल्ने गरेका छन् भने नयाँ चराचुरुङ्गी प्रजातिहरू पनि देखिन थालेका छन् ।
रातु महिला सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मुना श्रेष्ठले महिलाले प्रत्यक्ष पहरेदारीमा खटिँदा वन संरक्षण प्रभावकारी भएको बताइन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रका अनुसार स्थानीय सहभागिताले वन मात्र जोगिएको छैन, पर्यटकीय आकर्षण पनि बढेको छ ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले उद्यान क्षेत्रमा बढेका विभिन्न रंगका चराचुरुङ्गी र वन्यजन्तुले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सम्भावना देखिएको धारणा राखे । उनका अनुसार पूर्वाधार विकास र तीनै तहका सरकारको संयुक्त पहल भएमा यो क्षेत्र पर्यटनसँग जोडिएर आर्थिक समृद्धिको आधार बन्न सक्छ ।
बर्दिबासको चुरेक्षेत्रसँगै ऐतिहासिक र धार्मिक महत्त्वका स्थलहरू रहेका छन् । संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक हीरालाल गौतमका अनुसार यहाँ महाभारतकालीन टुटेश्वरनाथ महादेव मन्दिर, पञ्चधुरादेवी शक्तिपीठ, राइमण्डलधाम, प्रागैतिहासिक हतियार कारखाना, गिद्धको बासस्थान, चनौटेडाँडा, बेसारे तथा सोलीघोप्टे जस्ता पर्यटन सम्भावना बोकेका स्थलहरू छन् ।