सप्तरी | सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा स्थानीयवासीहरूले जनप्रतिनिधिहरूको राजिनामा माग गर्दै असोज १२ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
स्थानीयवासीहरूले गाउँपालिका चलाउन असक्षम भएको आरोप लगाउँदै धर्नामा बसेका हुन् । उनीहरूले “राजिनामा दे”, “सुशासन कायम गर”, “भ्रष्ट अध्यक्ष राजिनामा दे”, “सरकारी गाडी फिर्ता गर” जस्ता नारा लगाउँदै टायर बालेर प्रदर्शन गरेका छन् ।
बेथिति विसंगति विरूद्ध संघर्ष समितिका सचिव मिलन कुमार चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले जनप्रतिनिधिहरू असक्षम भएको र तुरुन्त राजिनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । साथै, जनप्रतिनिधि र कर्मचारीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राखिएको छ ।
संघर्ष समितिका अध्यक्ष चौधरीका अनुसार, दसैंजस्ता चाडपर्वमा समेत कर्मचारीलाई तलब दिन नसकेको र गाउँपालिकामा कामभन्दा बढी भ्रष्टाचार भइरहेको भन्दै आन्दोलन जारी राखिने छ । धर्नामा स्थानीय बिभिन्न राजनीतिक दलका जनप्रतिनिधि, जेनजी पुस्ता, पूर्व जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
यस विषयमा जानकारी लिन गाउँपालिकाको उपाध्यक्ष कल्पना चौधरीलाई फोन गर्दा फोन उठाएको थिएन ।