महोत्तरी | मधेस क्षेत्रमा आज दशहारा पर्वको अवसरमा परम्परागत ‘बेलनौत’ विधि सम्पन्न भइरहेको छ। शारदीय नवरात्र र दशहारा भनिने दसैँ पर्वको षष्ठी तिथिमा ‘बेलनौत’ गरिने मैथिल परम्परा छ ।
असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नौ दिनको नवरात्र भए पनि यसपालि चौथी (चतुर्थी) तिथि दुई दिन पर्दा १० दिनको नवरात्र भएको छ । यसअनुसार छैटौँ दिन अर्थात् षष्ठी तिथिमा सम्पन्न गरिने ‘बेलनौत’ यसपालि सातौँ दिनमा परेको छ ।
नवरात्रको षष्ठीका दिन ‘बेलनौत’ विधि अनुसार माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि बेल फलको भेट्नो राखिन्छ । बेलको फललाई रातो रुमालले बाँधेर देवी प्रतिमास्थलमा राख्ने परम्परा मिथिला क्षेत्रमा रहस्यमय र उल्लासमय वातावरणमा सम्पन्न गरिन्छ ।
षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित बेलको फललाई निम्ता गरेर बाँधिएको प्रतिमा नजिक राखिन्छ। सप्तमीका दिन बिहानै टिपेर पुरोहित ब्राह्मणले भेट्नो प्रयोग गरी प्रतिमाको आँखा खोस्री खोलिदिने चलन छ। यसरी आँखा खोलिँदा देवी प्रतिमा पूर्ण सजीव मानेका छन्। यसलाई मिथिलामा ‘बेलतोडी’ विधि पनि भनिन्छ ।
मिथिला क्षेत्रमा दशहरा पर्वको अवसरमा बनाइएका अधिकांश माटो, काठ वा धातुका देवी प्रतिमा विजयादशमीको दिन नदी वा तलाउमा विसर्जन गरिने परम्परा पनि रहेको छ । पर्वको अवसरमा स्थानीय बासिन्दा र मैथिल समुदाय निकै उत्साहित र चहलपहलमा रहेका छन् ।