अन्नको भण्डार भनेर चिनिने बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धानका फाँटहरू निकै मनमोहक देखिएका छन् । बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टरमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये करिब २० प्रतिशत योगदान बर्दियाको रहने गरेको छ । यसै कारण राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोनको रूपमा घोषणा गरेको हो ।
विगतमा धान खेतीमै निर्भर रहेका यहाँका किसानहरू पछिल्लो समय भने उखु, मकै जस्ता अन्य नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् । कृषि उत्पादनमा विविधता आउन थाले पनि धान खेती अझै बर्दियाको पहिचान र प्रमुख अन्न उत्पादनको आधार बनेको छ ।