अनियमिततामा मुछिएको आरोप लागेपछि सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापालको जिम्मेवारी खोसिएको छ ।
सरकारले कार्यालय प्रमुख रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई आइतबारदेखि मन्त्रालय तानेको हो । सेवाग्राहीसँग घुस माग्ने, अनावश्यक हैरानी दिने लगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरूको जिम्मेवारी खोसेको जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजस्व हिनामिना भएको आशंका गरिएको छ । प्रमाणसहितको गुनासो सेवाग्राहीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयसम्म पुर्याएका थिए ।
अनियमितता भएको पुष्टि गर्न मन्त्रालयले प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
इटहरीको पकलीस्थित सो कार्यालयमार्फत अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको बाटो इजाजत पत्र जारी गर्ने, सवारीसाधनको स्तर कायम गर्ने, जाँच पास गर्ने, प्रदूषण परीक्षणलगायतका काम हुँदै आएको छ ।