अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार सोमबार बिहान ९ बजेसम्मको विवरणअनुसार सडक अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रूपमा रोकिएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरुद्ध भएको छ ।
त्यस्तै रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण सडक अवरुद्ध भएको छ भने सोही नगरपालिका–२ तातोपानीमा पहिरो खस्दा पासाङल्हामु सडकखण्ड बन्द भएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ एककिलोमा आइतबारदेखि खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध बनाएको छ । साथै, भोटेकोशी गाउँपालिका–२ बाह्रकिलोमा आज फेरि खसेको पहिरोका कारण सो राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
प्रहरीका अनुसार अवरुद्ध स्थानहरूमा पहिरो पन्छ्याउने काम जारी छ ।