वीरगन्ज महानगरपालिका वडा नम्बर १३ स्थित दुर्गा भवानीको शक्तिपीठ राधेमाई मन्दिरमा आज (सोमबार) बडादशैँको दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका अवसरमा परम्परागत अनुष्ठान स्वरूप फूलपाती भित्र्याइएको छ ।
पर्सा क्षेत्र नम्बर १ का पूर्व सांसद तथा पूर्व मन्त्री प्रदीप यादवसहित हजारौं भक्तजनहरूले शुभ साइतमा शास्त्रीय विधिपूर्वक फूलपाती भित्र्याएका हुन् । पूर्व मन्त्री यादवले आफैं मातारानीको डोला बोकेर मन्दिर प्रांगणमा प्रवेश गरेका थिए । डोला पुर्याएपछि उनीसहितका भक्तजनहरूले पूजा–अर्चना सम्पन्न गरेका थिए ।
पूर्व मन्त्री यादवले फूलपातीको अवसरमा सम्पूर्ण देशवासीको सुख, समृद्धि र चिताएको कार्य सफल होस् भन्ने कामना व्यक्त गर्दै शुभकामना दिएका छन् ।