महोत्तरी । लगातार दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण महोत्तरी जिल्लाका विभिन्न क्षेत्रमा बाढी र डुबान बढ्दै गएको छ । बाढीको पानी सदरमुकाम जलेश्वरमा प्रवेश गर्दा सडक जलमग्न बनेका छन् भने केही घरहरूमा पनि पानी पसेको छ ।
दुई दिनदेखि नरोकेर परेको वर्षाका कारण जिल्लाका रातो, जंग्हा, माढा, विग्ही, गेरुकी, कुटमेश्वरीलगायतका दर्जनौँ नदीमा जलस्तर तीव्र गतिमा बढेको छ । नदीहरूमा पानी बढेसँगै तटबन्धहरूमा कटान हुन थालेका छन् ।
जिल्लाको ‘दुःख’ भनेर चिनिने रातो नदीको रतवारा क्षेत्रमा २० मिटर बाँध कटान भएको छ । त्यसैगरी, जलेश्वर नगरपालिका–३ को धवौलीमा सशस्त्र प्रहरी चेकपोष्टभन्दा दक्षिणतर्फ ३५ मिटर बाँध कटान गरिएको छ ।
रतवाराको तटबन्ध कटानसँगै पानी सोझै सदरमुकाम जलेश्वर प्रवेश गरेको छ । जसका कारण महादेव मन्दिर क्षेत्र र जलेश्वर अस्पताल चोक डुबानमा परेका छन्। धवौली क्षेत्रमा कटिएको तटबन्धको पानी सोही वडाको खैरातर्फ सोझिएको जनाइएको छ ।
जलेश्वरमा बाढीको पानी सडकमा पस्नका साथै ढल जामको कारण दुई फिटभन्दा बढी पानी जमेको जलेश्वर नगरपालिका–२ का युवा मुकेश पासवानले बताए ।
उनका अनुसार, “शहरी करणका क्रममा ढलसहित सडक बने पनि समयमै मर्मत नहुँदा वर्षा सुरु भएलगत्तै सडकमै पानी जम्ने समस्या दोहोरिएको छ ।”
स्थानीय दैवी प्रकोप उद्धार समितिले शनिबारदेखि नै जनचेतना र सतर्कता अभियान सुरु गरेको जनाएको छ । बाढी आउन सक्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
जिल्लाको एकडारा गाउँपालिका–६ वगेया क्षेत्रमा तटबन्ध भत्किँदा गाउँमा पानी पस्दा धेरै घरमा बाढीको असर पुगेको जनाइएको छ । बाढीका कारण जलेश्वर–बर्दिबास सडकखण्डमा समेत पानी बगेको छ ।
बाढीको कारण औरही नगरपालिका–२ मा करिब १५ घरमा क्षति पुगेको स्थानीय प्रेमबाबु यदुवंशीले जानकारी दिए । त्यसैगरी, बलवा नगरपालिकाका केही बस्तीमा पनि बाढी पसेपछि सुरक्षाकर्मीहरूले स्थानीयलाई उद्धार गरेका छन् ।
हाल वर्षा केही कम भए पनि नदीहरूको जलसतह उच्च भएकाले बाढीको जोखिम अझै कायमै रहेको जनाइएको छ । यसैबीच, जिल्लाका विभिन्न ठाउँमा तटबन्ध कटान हुँदा मटिहानी नगरपालिका–९ सिमरदही बस्तीमा पनि बाढी प्रवेश गरेको छ ।
बाढीका कारण जलेश्वर नगरपालिका–१, २, ३, ४ र ५ का बस्तीहरू प्रभावित बनेका छन् ।