मकवानपुर । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने दुई सडक खण्ड आज (सोमबार) बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौंडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिनुभयो ।
उनका अनुसार पहिरोका कारण अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ भने अझै सञ्चालनमा आउन सकेका छैनन् । भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको छ भने दक्षिणकाली मन्दिर नजिकै पहिरो खसेकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको बताइएको छ ।
त्यस क्षेत्रमा बगाएको सडक पुनर्निर्माण र पहिरो पन्छ्याउने कार्य भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो ।
यस्तै, हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलाको आसपास पहिरो खसेर सडकको केही भाग बगाएको छ । ठाउँ–ठाउँमा खसेका पहिरो पन्छ्याउने र सडक मर्मत कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।