मुस्ताङ । पछिल्लो केही वर्षयता मुस्ताङको कोरला नाका पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै गएको छ ।
समुद्री सतहदेखि ४,६१० मिटर उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाकाको प्रवेशद्वार २४ नं सीमास्तम्भ (जङ्गे पिल्लर) हो । यही प्रवेशद्वारमा बर्सेनि हजारौं आन्तरिक पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने ५० प्रतिशत आन्तरिक पर्यटक कोरला नाका अवलोकनका लागि जाने गरेका छन् ।
यहाँ आउने पर्यटकहरू मुक्तिनाथ दर्शनपछि उपल्लो मुस्ताङ र कोरला नाका अवलोकनका लागि प्रस्थान गर्ने गरेका छन् । विदेशी पर्यटकले भने उपल्लो मुस्ताङ भ्रमणका लागि ५०० डलर राजस्व तिरेर प्रवेश अनुमति लिने भए पनि सुरक्षा संवेदनशीलताका कारण सीमा नाकामा प्रवेश गर्न पाउँदैनन् । लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी (बिओपी) चेक पोस्टबाट मात्रै उनीहरूलाई अनुमति दिइन्छ ।
दसैँ पर्वसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जेनजी आन्दोलन र प्रतिकूल मौसमको बाबजुद पनि पर्यटक संख्या बढिरहेको छ ।
दसैँपछि असोज १७ र १८ गते दुई दिनमा ६,१७३ नेपाली आन्तरिक पर्यटक र ६८८ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। सोही अवधिमा २,२१७ सवारीसाधन भित्रिएका छन् । न्हेचुङस्थित बिओपी इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाका अनुसार, दसैँ पर्वको असोज १७ र १८ गते दैनिक करिब १,५०० आन्तरिक पर्यटक कोरला नाकाको अवलोकन गरी फर्किएका थिए ।
तेस्रो दिन आइतबार मात्र १,७०२ आन्तरिक पर्यटक कोरला नाका पुगेका छन् । त्यहाँ १२६ बस, जिप, कार र २२४ मोटरसाइकल प्रवेश गरेका छन् । उच्च स्थानमा अवस्थित नाकामा अक्सिजन कमी, चिसो र हाइअल्टिच्युडका कारण पर्यटक तथा सवारीसाधनलाई विभिन्न समस्या देखिएको छ ।
सुरक्षा र सहजताको लागि, नाकामा प्रवेश र फिर्तीको समय बिहान ७ बजे प्रवेश, साँझ ४ बजे फिर्ती तय गरिएको छ ।
कोरला नाका पुगेका नेपाली पर्यटकले २४ नं जङ्गे पिल्लरको छेउमा राष्ट्रिय झण्डा फहराउँदै फोटो र भिडियो खिच्ने गरेका छन् । त्यहाँको व्यापारिक क्षेत्रका स्थानीय व्यापारीले पर्यटकका लागि चिनियाँ सामान बिक्री गर्दै छन् । पर्यटकले उत्तरतर्फ चीनको तिब्बती भूमिमा निर्माण भएका भव्य संरचना हेरेर रुचाउने गरेका छन्। तर नेपालतर्फ आवश्यक भौतिक संरचना निर्माण हुन नसकेको छ ।