हेटौंडा । हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने सडक मार्गमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सार्वजनिक सूचना जारी गर्दै हेटौंडा–भैँसे, भीमफेदी–कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी–दक्षिणकाली र त्रिभुवन राजपथ मा सोमबार बेलुका ६ बजे देखि बिहान ५ बजे सम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको छ ।
सूचनामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ का अनुसार, अर्को सूचना जारी नभएसम्म हेटौंडाबाट काठमाडौँ जाने सबै सडक मार्गमा राति सवारीसाधन आवागमनमा रोक कायम रहनेछ।
उनका अनुसार, वर्षाका कारण सडकमा कुनै पनि बेला पहिरो खस्ने जोखिम रहेकोले सुरक्षा पूर्वक रोक लगाइएको हो ।
हाल, हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने चारवटै सडक मार्गमध्ये तीनवटा मार्ग सोमबार बिहानदेखि सञ्चालनमा आएका छन् । तर कान्तिलोकपथ अझै सञ्चालनमा आउन सकेको छैन। उक्त मार्गका विभिन्न भागमा पहिरोले सडक अवरुद्ध भएको छ ।