रौतहट । राजपुर नगरपालिका–८ बलुवा गोठटोल बस्ने गोनवर मियाको १० वर्षीय छोरा अरवाज मिया खोलाले बगाएर मृत्यु भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्की का अनुसार, दिउँसो करिब २ बजे घर नजिकै रहेको बकैया खोला मा नुहाउन गएका बालकलाई खोलाले बगाएको स्थानीयले खबर गरेपछि प्रहरी टोलीले करिब ४० मिनेटपछि बालकलाई फेला पारेको थियो ।
बालकलाई उपचारका लागि राजपुर प्राथमिक उपचार केन्द्र ल्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।
यसैबिच, आज दिउँसो देवाही गुनाही नगरपालिका–६ कर्कचटोलमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् । त्यहाँका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमाकुमारी दिउँसो करिब सवा २ बजे नुहाउन गएका बेला बेपत्ता भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
प्रहरीले ती बालिकाको खोजी कार्य तीव्र बनाएको छ ।