जनकपुरधाम | मधेस प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको छ । बुधवार काँग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच भएको सहमतिअनुसार काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न यो दाबी गरिएको हो ।
काँग्रेस संसदीय दलका नेता कृष्ण यादव, एमाले संसदीय दलका नेता सरोज यादव र जनमत पार्टीका संसदीय दलका नेताको नेतृत्वमा प्रदेश सभा सदस्यहरूको टोली प्रदेश प्रमुख सुमित्रा सुवेदी प्रदेश बाहिर रहेकाले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गरेको हो ।
काँग्रेस र एमालेले बहुमतका मुख्यमन्त्री सतिशकुमार सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको कृष्ण यादवले जानकारी दिए ।
एमाले संसदीय दलका नेता सरोज यादवका अनुसार, जेन–जी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिएका थिए । तर, राजीनामा दिन तयार नभएपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठन प्रक्रियामा अघि बढेको हो ।
जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले भने, “केही अवधिका लागि जनमतले सरकारको नेतृत्व गर्ने र त्यसपछि काँग्रेसलाई दिने सहमति भएपनि मुख्यमन्त्रीले सहमति पालन नगरेपछि हामी नयाँ शिराबाट सरकार गठनतर्फ लागेका हौं ।”
काँग्रेसको नेतृत्वमा सरकार गठनका लागि १७१ सदस्यीय प्रदेश सभामा काँग्रेस, एमाले र जनमत पार्टीका ५८ प्रदेश सभा सदस्यहरूको समर्थनमा दाबी पेश गरिएको छ ।
भिडियाे सामाग्री