रौतहट | रौतहटको कटहरिया नगरपालिकाका वडा कार्यालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले लामो समयदेखि तलब भत्ता नपाएको भन्दै वडा कार्यालयहरूमा तालाबन्दी गर्दै सेवा प्रवाह बन्द गरेका छन् ।
वडा नं. १ का करार कर्मचारी तथा सहायक कम्प्युटर अपरेटर मुकेश कुशवाहाका अनुसार बक्यौता तलब र सेवा सुविधा नपाएको कारण आन्दोलन गर्न बाध्य भएका हुन् । उहाँले मंगलबार नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएपछि वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयहरूमा तालाबन्दी गरिएको जानकारी दिनुभयो ।
वडा कार्यालयहरू बन्द भएपछि स्थानीय सेवा प्रवाह ठप्प भएको छ । कटहरिया वडा नं. ८ का करार कर्मचारी मुकुन्द नारायण यादवका अनुसार सबै वडाका कर्मचारीहरूले सामूहिक रूपमा तालाबन्दी गर्दै कार्यालयको साँचो आ–आफ्नो जिम्मामा राखेका छन् । उहाँले २०८२ भदौ महिना सम्मको बक्यौता तलब भत्ता भुक्तानी नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल प्रसादका अनुसार दशैं पर्वको समयमा समेत करार कर्मचारीहरूलाई तलब भत्ता नदिइएको गुनासो उठेको छ । उहाँले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले तत्काल करार कर्मचारीको तलब भत्ता वितरण गरी वडा कार्यालयहरू सुचारु गर्न पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली कार्यालयमा उपस्थित नभएपछि समस्या समाधानमा कुनै प्रगति हुन नसकेको स्थानीयहरूले जनाएका छन् ।
यसैबीच, कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाशले तिहारअघि करार कर्मचारीहरूको तलब भत्ता समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
भिडियाे सामाग्री