वीरगंज महानगरपालिकाले अस्थायी, करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको म्याद नथप्ने निर्णय गरेको छ ।
यस निर्णयसँगै स्वीकृत दरबन्दी बाहेकका ती कर्मचारीहरूले असोज मसान्तदेखि आफ्नो कामकाज गर्न नपाउने भएका छन् । महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्णले असोज २१ गतेको निर्णयका आधारमा सार्वजनिक सूचना जारी गर्दै अस्थायी प्रकृतिका कर्मचारीहरूलाई असोज मसान्तपछि काममा नलगाउन निर्देशन दिएका छन् ।
महानगरपालिकाले नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, अर्थ मन्त्रालयको परिपत्र तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विज्ञप्तिलाई आधार मानेर उक्त कदम चालेको हो । सरकारले २०८२ असोज ५ गते मन्त्रिपरिषद्बाट अनावश्यक रूपमा राखिएका अस्थायी कर्मचारीहरूलाई हटाउने तथा प्रशासनिक खर्च घटाउने नीति अवलम्बन गर्ने निर्णय गरेको थियो ।
अर्थ मन्त्रालयले असोज ७ गते परिपत्र जारी गरी उक्त निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको थियो भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते विज्ञप्ति प्रकाशित गरी यसलाई थप स्पष्ट पारेको थियो ।
सरकारका यी निर्णयहरू अनुसार अब स्थायी दरबन्दी बाहेकका अस्थायी, करार वा ज्यालादारी कर्मचारीहरूलाई निरन्तरता दिन नपाइने स्पष्ट भएको महानगरपालिकाले जनाएको छ ।
भिडियाे सामाग्रीहरू