सप्तरीको रुपनी गाउँपालिका–१ मा बिहीबार राति आगलागी हुँदा एक जना घाइते भएका छन् भने लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बिहीबार राति करिब १० बजे स्थानीय ललित यादवको घरमा जडान गरिएको विद्युत मिटरको तार सर्ट भई आगलागी भएको थियो । आगो निभाउने क्रममा स्थानीय श्याम सुन्दर यादव जलेर घाइते भएका छन् । उनको मधेश प्रदेश प्रहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर पुरीले जानकारी दिए ।
प्रहरीका अनुसार आगलागीबाट सो टोलका यादवसहित ६ जनाको घर जलेर नष्ट हुँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगोले ललित यादवको बाँसको टाटीको बेरा र टिनको छानो भएको दुईवटा घर, एक तोला सुन, १० तोला चाँदी, नगद ५० हजार रुपैयाँ, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन र चौपाया जलेर नष्ट हुँदा करिब सात लाख ५५ हजार रुपैयाँको क्षति भएको छ ।
त्यस्तै, सुनिल यादवको दुईवटा घर, तीन तोला सुन, ५० तोला चाँदी, नगद ३ लाख रुपैयाँ, अन्नपात, लत्ताकपडा र भाँडाबर्तन जलेर करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
छिमेकी श्याम सुन्दर यादवको घरमा पनि आगलागीबाट तीन तोला सुन, ५० तोला चाँदी, नगद २ लाख रुपैयाँ, अन्नपात, लत्ता कपडा, पशु चौपाया लगायत गरी करिब १५ लाख ६५ हजार रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पार्वती देवी यादवको तीन तोला सुन, एक सय तोला चाँदी, नगद ७५ हजार रुपैयाँ, लत्ता कपडा लगायत गरी करिब १० लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
शुक्रबार राति १० बजे शुरु भएको आगो राजविराजस्थित बरखगण भलुवाही ब्यारेकका प्रमुख सेनानी शोवित बहादुर चन्दसहित १७ जनाको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कञ्चनरुप नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।