हुम्लाको चंखेली गाउँपालिका–७ देशीखोलामा भएको जीप दुर्घटनामा परेका नौ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुर्घटनामा परेका केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार शुक्रवार दिउँसो चंखेली गाउँपालिकाबाट सिमीकोटतर्फ जाँदै गरेको जीप (प्रदेश ०२–००१ च २५८०) देशीखोलामा दुर्घटनाग्रस्त भएको हो । सडक साँघुरो र चिप्लो भएका कारण जीप अनियन्त्रित भई करिब २०० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनापछि स्थानीयवासी, प्रहरी र नेपाली सेनाको टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो । सोही क्रममा गम्भीर घाइते भएकाहरूलाई शुक्रबार बेलुकी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कालागाउँस्थित प्रदेश अस्पताल ल्याइएको हो ।
उद्धार गरिएकामध्ये जाकृती रोकाय, पार्वती सिरा, कैलाश सिरा, बहादुर लामा, महेन्द्र रोकाय, हंस लामा, अनुपमा रोकाय, बिमला बुढा र कुरुवा रहेका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको र तत्काल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल दुर्गम र सवारी साधन आवतजावत गर्न कठिन ठाउँमा परेकाले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ । दुर्घटनापछि नेपाली सेनाको हेलिकप्टर, प्रहरी र स्थानीय बासिन्दाले करिब चार घण्टासम्मको प्रयासपछि सबै घाइतेहरूलाई सुरक्षात्मक रूपमा अस्पताल पठाएका थिए ।
नेपाली सेनाका पाइलट महासेनानी दिपध्वज खड्काका अनुसार उद्धार कार्यमा सेनाको हेलिकप्टरले लगातार दुईपटक उडान भरेर घाइतेहरूलाई कालागाउँ पुर्याएको हो ।
दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।