बाराको सिम्रौनगढ नगरपालिका–६ मा शनिबार बिहान घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–६ सानो इटवालकी ७० वर्षीया शारदा देवी महतो र सिम्रौनगढ नगरपालिका–५ सानो इटवालका १५ वर्षीय सुनिल महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दशरथ महतोकी श्रीमती शारदा देवीलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । त्यस्तै, राजेश्वर महतोका छोरा सुनिल महतोलाई उपचारका लागि कलैया मेट्रो अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार बिहान करिब ८:५० बजे सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्को खस्दा दुर्घटना भएको हो ।
घटनामा घाइते हुनेहरूमा सिम्रौनगढ नगरपालिका–६ सानो इटवालका १४ वर्षीय साजन महतो, सोही वडाका १५ वर्षीय नितेश महतो, अमरपुरका १८ वर्षीय गौतम मुखिया, सानो इटवालकी १४ वर्षीया रानी कुमारी महतो, १४ वर्षीया सुशिला कुमारी महतो र १५ वर्षीय राजा बाबु शर्मा रहेका छन् ।
घाइतेमध्ये साजन महतो र नितेश महतोको सिम्रौनगढ कंकाली अस्पतालमा उपचार भइरहेको छ भने गौतम मुखियाको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप विवरण संकलन गर्दै छ भने दुर्घटनामा संलग्नको अवस्थाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ ।