पर्सा । भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) मा गरेको ठुलो परिवर्तनपछि वीरगंजको स्थानीय बजारमा प्रत्यक्ष असर परेको छ । भारतले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नमा लगाउँदै आएको जिएसटी दर १२ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा सीमित गरेपछि सीमावर्ती भारतीय बजार रक्सौलतर्फ नेपाली उपभोक्ता आकर्षित भएका छन् ।
भारतको नयाँ कर दर लागू भएपछि रक्सौल बजारमा चामल, दाल, चिनी, खाने तेल, कफी, आइसक्रिम, घिउ, दुधजन्य वस्तु, भुजिया, नमकिन, पापडलगायतका सामग्री सस्तिएका छन् । यसको प्रत्यक्ष प्रभाव स्वरूप वीरगन्ज बजार सुनसान देखिएको स्थानीय व्यवसायीहरूको भनाइ छ ।
त्यस्तै, कस्मेटिक सामान, विलासिताका वस्तु, कपडा, तयारी कपडा, पेट्रोल, डिजेल र एलपीजी ग्यासमा लगाइएको २८ प्रतिशत कर घटाएर १८ प्रतिशत कायम गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले नेपाल सरकारले भन्सार महसुल दरमा तत्काल समायोजन नगर्ने हो भने तस्करी र गैरकानुनी व्यापारलाई प्रोत्साहन मिल्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “भारतको कर घटेपछि सीमाक्षेत्रमा मूल्य अन्तर बढेको छ, जसले नेपाली बजारमा प्रत्यक्ष असर पार्दैछ ।”
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भारतको कर नीतिले आयातमा कस्तो प्रभाव पार्दैछ भन्नेबारे अर्थ मन्त्रालयले अध्ययन सुरु गरेको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले भारतको नयाँ कर नीतिपछि सीमाक्षेत्रमा तस्करीको जोखिम बढेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीसँग समन्वय गरी सीमा नाकामा निगरानी कडाइ गरिएको जानकारी दिनुभयो ।