रौतहट । गत असोज १७ र १८ गते परेको अविरल वर्षा, बाढी र हावाहुरीका कारण रौतहट जिल्लाका किसानहरूको वर्षभरको परिश्रम पानीमा बगेको छ । पूर्वमा बागमती, पश्चिममा लालबकैया, चाँदी, झाँझ, गुजरा लगायतका नदी तथा खोलाहरूमा आएको बाढी र डुबानका कारण हजारौँ हेक्टर खेत जलमग्न भएका छन् ।
धान पाक्ने संवेदनशील समयमा परेको तीव्र वर्षा र हावाहुरीले अधिकांश खेतका धान लडेका छन् । कतिपय खेतमा बाला झुलिएर सड्न थालेका छन् भने केही खेतमा भर्खर बाला लाग्ने क्रममा रहेका बालीहरू समेत डुबानमा परेका छन् । किसानहरूले यस अवस्थालाई आफ्नो “वर्षभरको आशा डुबेको” घटना बताएका छन् ।
कटहरिया नगरपालिका–५ का किसान रामचन्द्र गोसाईं भन्छन्, “धान नै हाम्रो मुख्य खाद्यान्न हो। यो सिजनमा बाली नष्ट भएपछि अब गुजारा कसरी चलाउने भन्ने चिन्ता बढेको छ ।”
जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार यस वर्ष जिल्लामा ३६ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ गरिएको थियो । तीमध्ये करिब १६ हजार हेक्टरमा लगाइएको धान पूर्ण रूपमा नष्ट भएको छ ।
धानसँगै अन्य बालीहरू पनि प्रभावित भएका छन्। कुर्मीका अनुसार, १.३१ प्रतिशत हेक्टर उखु, ४ सय हेक्टर तरकारी, २ सय हेक्टर केरा र २.३२ प्रतिशत हेक्टर फलफूल खेतीमा समेत क्षति पुगेको छ ।
रौतहटमा कुल ५१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेकामा ३६ हजार हेक्टरमा मात्र धान खेती गरिएको थियो । तीमध्ये झन्डै आधा बाली नष्ट भएपछि यस वर्ष जिल्लाको धान उत्पादनमा उल्लेख्य गिरावट आउने निश्चित भएको छ ।
कृषि विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण कृषि चक्र अस्थिर बन्दै गएको छ । यो वर्ष रोपाइँको समयमा खडेरी र भित्र्याउने समयमा आएको अत्यधिक वर्षा यसको ठोस उदाहरण हो । निरन्तर असन्तुलित मौसमका कारण किसानहरू बर्सेनि आर्थिक रूपमा कमजोर बन्दै गएका छन् ।
तर किसानहरूको यो संकटप्रति केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू मौन देखिएका छन् । राहत र क्षतिपूर्तिको प्रक्रिया सुरु नहुँदा किसानहरूको मनोबल झनै खस्किएको छ ।
रौतहटमा धान खेती प्रायः वर्षामा निर्भर रहँदै आएको छ । सिँचाइ, ढल निकास र पूर्वसूचना प्रणालीको अभावले प्राकृतिक विपद् हुँदा क्षतिको असर हरेक वर्ष ठूलो हुने गरेको किसानहरूको गुनासो छ ।