पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
बोर्डर आउटपोस्ट अमरपट्टीबाट खटिएको गस्ती टोलीले आज दिउँसो करिब ३ः२० बजे ५ किलो गाँजा बरामद गरेको हो। नेपालबाट भारततर्फ जाँदै गरेको ना.१३ प. ४६१८ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा उनीहरूले शरीरभित्र र मोटरसाइकलको सिटमुनि गाँजा लुकाएका थिए ।
पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–९ बस्ने करिब २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँपालिका–६ बस्ने करिब १९ वर्षीय गौत्तम पटेल रहेका छन् ।
उनीहरूको साथबाट गाँजासहित मोटरसाइकल, मोबाइल, घडी र नगद २२० रुपैयाँ पनि बरामद भएको छ। दुवैलाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।