गत असोज १७ गते महोत्तरीको बर्दिवास–११ खयरमारामा भएको बस दुर्घटनाका घाइतेहरूले उपचार नपाएको भन्दै पीडित पक्षले बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।
सर्लाहीको घारीबथानबाट काठमाडौंतर्फ जाँदै गरेको बीपी यातायात प्रालिको ना ६ ख १४६४ नम्बरको यात्रुबाहक बस बर्दिवास–११ खयरमारा नजिक दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु र करिब ४० जना यात्रु घाइते भएका थिए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका ६ जनालाई सोही दिन हेलिकप्टरमार्फत काठमाडौं लगिएको भए पनि यातायात व्यवसायी संघ र बस सञ्चालकले आवश्यक समन्वय नगरेका कारण उपचारमा समस्या परेको पीडित पक्षको गुनासो छ ।
काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरू पैसा अभावका कारण औषधि समेत पाउन नसकेपछि राजमार्ग बन्द गर्नुपरेको घाइते परिवारका सदस्य नवराज विसङ्ख्यले बताए ।
पीडितका अनुसार बर्दिवास–११ खयरमाराकी गिता कुमारी विश्वकर्मा (४१), छोरा हिरालाल (२२), बुहारी बुद्धिमाया र भतिजी सुनिता विश्वकर्मा भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत छन् ।
त्यस्तै, बर्दिवास–१० का दिर्जमान गोले (४०), उनकी श्रीमती निर्मला तामाङ (४४) र छोरी अस्मिता गोले (१६) तथा बर्दिवास–११ की बिना विसङ्ख्य (२३) राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । साथै, पाटन अस्पतालमा समेत दुई जना घाइतेको उपचार भइरहेको बताइएको छ ।
गम्भीर अवस्थाका बिरामीहरूको उपचार सुनिश्चित गर्न आवश्यक समन्वय बस सञ्चालक र यातायात प्रालिले नगरेपछि स्थानीयहरू राजमार्ग बन्द गर्न बाध्य भएको बर्दिवास–१० का वडा अध्यक्ष प्रमोद मोक्तानले बताए ।
दुर्घटनामा परेका यात्रु सवार बस खयरमारा लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल तोडेर पल्टिएको थियो । दुर्घटनास्थलमै एक र उपचारका क्रममा अर्को यात्रुको मृत्यु भएको थियो ।
पीडित पक्षले बिरामीको उपचारको सुनिश्चितता नभएसम्म राजमार्ग बन्द आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।