अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले दार्चुला जिल्लाको नयाँ व्यापारिक केन्द्रका रूपमा विकसित भइरहेको छ । सडक यातायातको सहज पहुँचसँगै यहाँ अहिले बजार, होटल, पसल र गोदामहरू बाक्लिँदै गएका छन् । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड आज आधुनिक बजारको रूप लिन पुगेको छ ।
विसं २०७६ मा सुरु भएको मकरीगाड जलविद्युत् आयोजना र त्यसपछि भएको सडक विस्तारले यस क्षेत्रको आर्थिक रूपान्तरणलाई तीव्र बनाएको हो । विसं २०६० देखि मकरीगाडमा व्यापार गर्दै आएका स्थानीय धनसिंह लोथ्यालका अनुसार सडक पुगेपछि बजार व्यवसाय तीव्र गतिमा बढेको छ ।
“२२ वर्षअघि यहाँ खाना–बासका लागि सानो होटल खोलें,” लोथ्याल भन्छन्, “तर अहिले मकरीगाडमा सबै किसिमको व्यापार हुन्छ— बिहानदेखि साँझसम्म बजार चहलपहलले भरिन्छ ।”
सडक पुगेपछि दैनिक रूपमा जिप र मालबाहक ट्रक मकरीगाडसम्म पुग्न थालेका छन् । पहिले मार्मा गाउँपालिकाको लटिनाथ–सेलविसा मार्गमार्फत हुने व्यापार अहिले मकरीगाडमा केन्द्रित भएको छ । लोथ्यालका अनुसार पारिबगरदेखि मकरीगाड सडकखण्डमा रहेका धेरै होटल–पसल अहिले बन्द भएका छन् ।
अपिहिमाल गाउँपालिकाका वडा नं १ देखि ५ सम्मका स्थानीयका लागि मकरीगाड अहिले मुख्य बजार केन्द्र बनेको छ । पहिले लटिनाथबाट पिठ्युँमा सामान बोकेर आउनुपर्ने बाध्यता अब हटेको छ । “पहिले मार्माको सेलविसासम्म मात्रै सडक थियो, अहिले भने सबै सामान मकरीगाडमै सजिलै पाइन्छ,” लोथ्याल भन्छन् ।
धनगढीबाट रात्रिकालीन जिप सेवामार्फत बिहानै मकरीगाड पुग्ने व्यवस्था बनेको छ । विटुले–पारिबगर–मकरीगाड सडकखण्ड मध्ये मार्माको पारिबगरसम्म ग्राभेल गरिएको छ भने त्यहाँसम्म बस सेवा पनि सञ्चालनमा छ । पारिबगरदेखि मकरीगाडसम्म सडक कच्ची भए पनि ट्रकहरू नियमित रूपमा आवतजावत गर्छन् ।
व्यवसायी विसनसिंह धामीका अनुसार सडक विस्तारले मकरीगाडलाई स्थानीय व्यापारको केन्द्रबिन्दु बनाएको छ । “विद्युत् आयोजना सुरु नभएको भए सायद अहिले सडक पुग्दैनथ्यो,” उनी भन्छन्, “सडक कालोपत्र भयो भने यो बजार अझै फस्टाउनेछ ।”
अहिले मकरीगाडमा खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, छडदेखि दैनिक उपभोग्य सामग्री सहजै उपलब्ध छन् । व्यापारी धनसिंह जागरीका अनुसार सडक स्तरोन्नति र भाडादर समायोजनको आवश्यकता अझै छ, तर बजारको कारोबार तीव्र गतिमा बढिरहेको छ ।
तराईबाट आउने ट्रकहरूले अपिहिमालमा उत्पादित राज्मा, भटमास, आलु, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म लैजान थालेका छन् । यसरी पहाड र तराईबीच दोहोरो व्यापारको सहज प्रवाह सुरु भएको छ ।
“पहाडको उत्पादन तराई र तराईको सामान पहाड आइपुग्न थालेपछि मकरीगाडको आर्थिक चहलपहल फराकिलो बनेको छ,” जागरीले भने ।
हाल मकरीगाड लटिनाथ–सेलविसा व्यापारिक केन्द्रलाई प्रतिस्थापन गर्दै दार्चुलाको नयाँ आर्थिक केन्द्र बन्दै गएको छ । मकरीगाडभन्दा माथि सडक पुगेसँगै अपिहिमालको भौगोलिक र आर्थिक स्वरूप झन् बदलिने स्थानीयको अपेक्षा छ ।