सप्तरी । हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व दीपावली (तिहार) नजिकिँदै गर्दा राजविराज बजारमा उत्सवको चहलपहल सुरु भइसकेको छ । नगरका गल्ली, चौक र पसलहरू माटोका दियो, सुगन्धित बत्ती र रङ्गोलीले सजिएका छन्। यसैबीच, टोकरी (ढाकी) बोकेर दियो बेच्न आएका ग्रामीण महिलाहरूले बजारलाई थप रौनक बनाइरहेका छन् ।
सप्तरीको लालापट्टी गाउँका महिलाहरू हरेक वर्ष आफ्नै हातले बनाएका माटोका दियो लिएर राजविराज बजार उज्यालो पार्ने गर्छन् । बिहान सबेरै गाउँबाट हिँड्ने यी महिलाहरूको टोकरीमा पाँच सयदेखि एक हजारसम्म माटोका दियो हुन्छ। राजविराजका गल्ली र सडकमा पुगेर उनीहरूले घरमै वा बाटोमै स्थानीयलाई दियो बिक्री गर्छन् ।
लालापट्टीकी प्रमिला देवी भन्छिन्, “दियो सयकडामा एक सयदेखि पाँच सय रुपियाँसम्म बिक्री गर्छौं। त्यसमध्ये केही नाफा रहन्छ, जसबाट घरखर्च चलाउँछौं।” उनकी साथी बुधनी देवी थप्छिन्, “दीपावली हाम्रो मुख्य आम्दानीको स्रोत हो। पसिनाको कमाइले घरमा खाना पकाउँछौं, नातिनातिनाको खर्च चलाउँछौं। हामी बनाएको दियोले अरूको घर बल्दा गर्व लाग्छ ।”
फोटोमा देखिएझैं, यी महिलाहरू रङ्गीचङ्गी सारी र ओढनीमा सजिएर सडककिनारमा बसेका हुन्छन्। दियो छाँट्ने, बाँध्ने र बिक्री गर्ने काममा उनीहरू व्यस्त देखिन्छन् । अनुहारमा थकान भए पनि आफ्नो श्रमले अरूको घर उज्यालो पार्ने आत्मसन्तुष्टि स्पष्ट देखिन्छ ।
स्थानीय गृहणी रन्जना गिरीका अनुसार, बजारमा बिजुलीका लाइट र डिजाइनर मैनबत्ती बढे पनि माटोको दियोप्रतिको मोह घटेको छैन। उहाँ भन्छिन्, “माटोको दियोले घरमा शुभता, शुद्धता र आत्मिक उज्यालो ल्याउँछ भन्ने विश्वास अझै पनि बलियो छ ।”
नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली भन्छन्, “दीपावलीका दिन बालिने दियोहरूले केवल अँध्यारो भगाउँदैनन्, यी ग्रामीण महिलाहरूको श्रम र संघर्ष पनि उज्यालो पार्छ ।”
लालापट्टी बाहेक पथरगाडा, कोइलाडी बर्साइन, पातो लगायतका गाउँका महिलाहरू पनि दियो बोकेर नगरका घरघर पुगिरहेका छन् । दियो बेचेर कमाएको आम्दानीबाट नै उनीहरूका घरमा दीपावलीको उज्यालो आउने आशा र भरोसा रहेको छ ।