वीरगंज | वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । कार्यालयले यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु. ११ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयका अनुसार, चालु आवको दुई महिनामा रु. २६ अर्ब ३३ करोड खर्च गरेर पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरिएको थियो । प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वमा पेट्रोलियम पदार्थको योगदान २८.५६ प्रतिशत रहेको छ ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली का अनुसार, “भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च छ । यहाँको भन्सार आयातमा निर्भर रहेको छ, र त्यसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा महत्वपूर्ण छ ।”
उनले थपे, “यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट रु. ८ अर्ब १४ करोड अर्थात् १५.६८ प्रतिशत राजस्व प्राप्त भएको छ । फलाम तथा फलामबाट बनेका सामानबाट रु. २ अर्ब ५४ करोड (६.४९%) राजस्व संकलन भएको छ भने सबै प्रकारका कपडाबाट रु. १ अर्ब ९८ करोड (५.०६%) राजस्वको हिस्सा रहेको छ ।”
यसरी, वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कुल रु. ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ ।