जनकपुरधाम | मिथिला नगरपालिकाका शिक्षकहरू तलब भत्ता माग्दै आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । शिक्षकहरू ढल्केबरस्थित नगरपालिकाको कार्यालय परिसरमा धर्नामा बसेका हुन् ।
शिक्षक आन्दोलन परिचालन समितिका संयोजक रामप्रसाद खरेलले तलब भत्ताको रकम खातामा जम्मा नभएसम्म धर्ना कार्यक्रम जारी रहने जानकारी दिनुभयो । उहाँका अनुसार पटकपटक तलब भत्ता माग गर्दा पनि नगरपालिकाले ध्यान नदिएकाले अन्ततः बाध्य भएर धर्ना बस्नुपरेको हो ।
खरेलले भन्नुभयो, “दसैँ–तिहार जस्ता चाडपर्वमा पनि तलब नपाउँदा हामी आर्थिक सङ्कटमा परेका छौँ । सङ्घीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिहरूबीचको आन्तरिक मतभेदका कारण रोकिएको हो। शिक्षकको तलब तुरुन्त निकासा गरी शैक्षिक वातावरण सहज बनाउन आवश्यक छ ।”