वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित फुलवारी टोलमा जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।
आइतबार राति करिब ९: ४५ मिनेटमा रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये वीरगंज–१६ बस्ने २० वर्षीय रोहित रौनियार, त्यही स्थानका ३० वर्षीय श्यामबाबु राय र वीरगंज–१५ बस्ने २५ वर्षीय अनन्त कुमार गुप्ता रहेका छन् ।
उनीहरूको साथबाट नगद रु. ५० हजार ७ सय ५५ रुपैयाँ र ३ वटि तासका बुक बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई जुवाखालमै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।
जुवा सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक विश्वर लम्सालले पक्राउ परेकाहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।