जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि जनकपुरधाममा सुरु भएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुँदै उद्घाटन गर्नुभएको हो ।
उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि र वर्तमान संविधानको रक्षा सुनिश्चित गर्न सरकारले घोषणा गरेको फागुन २१ को चुनावमा भाग लिएर सफल हुनै पर्ने बताउनुभयो। साथै, जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न विगतदेखि नै आफ्नो पार्टीले उठाउँदै आएको कार्यकारी राष्ट्रपतिको निर्वाचन हुनु आवश्यक रहेको उहाँले व्यक्त गर्नुभयो ।
उहाँले राजनीतिक अस्थिरताका कारण देशमा कुशासन बढ्नु, विकासको गति धीमा हुनु र नातावाद तथा कृपावाद हावी हुनुका कारण युवाहरू आन्दोलनमा उत्रन बाध्य भएको धारणा व्यक्त गर्नुभयो ।
पार्टीका उपाध्यक्ष एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले जेनजी पुस्ताको आन्दोलन कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले माग जायज भएको बताउनुभयो । महासचिव एवं प्रवक्ता मनिष सुमनले जेनजी पुस्ताले उठाएको मागप्रति जनता समाजवादी पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट पार्दै सङ्घीयताको विपक्षमा हुने कुनै निर्णय आफूहरूले स्वीकार नहुने बताउनुभयो ।
अधिवेशनमा प्रदेश अध्यक्ष बालकिशोरप्रसाद यादवको अध्यक्षतामा पार्टीका उपाध्यक्ष गोविन्द चौधरी, रामकुमार शर्मा, जितेन्द्रकुमार सिंह यादव, दीपक कार्की लगायतका नेताहरूले आफ्ना धारणा राख्नुभएको थियो ।
जसपा नेपाल मधेश प्रदेशका अनुसार, दुई दिनसम्म चल्ने अधिवेशनमा ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षक गरी ६ सय जनाको सहभागिता रहेको छ । अधिवेशनबाट प्रदेश अध्यक्षसहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिनेछ । बन्दसत्र मङ्गलबारदेखि सञ्चालन हुने बताइएको छ ।