सर्लाही । जिल्ला निर्वाचन कार्यालय सर्लाहीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी स्वरूप मतदाता नामावली सङ्कलन कार्य तीव्र बनाएको छ । यसअघि निर्वाचन मिति घोषणा भएपश्चात् नामावली सङ्कलन कार्य स्थगित हुने व्यवस्था रहेको थियो, तर यस पटक सरकारले मतदानका लागि योग्य जेनजी पुस्तालाई समेत मताधिकार प्रयोग गर्न पाउने गरी अध्यादेश ल्याएपछि कार्य अघि बढाइएको हो ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहका अनुसार, आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जानकारी दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले असोज ८ गते मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि असोज ९ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन सुरु भएको थियो । सर्लाहीमा भने असोज १२ गतेदेखि सेवाग्राहीले आआफ्नो नाम दर्ता गराउन थाले। असोज १२ गते १०६ जनाले नाम दर्ता गरेका थिए ।
दशैँ बिदा र बाढीग्रस्त जिल्लामा सार्वजनिक बिदाका कारण असोज १३ देखि २० गतेसम्म कार्य प्रभावित भएपनि, असोज २१ गतेदेखि पुनः नामावली दर्ता जारी रह्यो । असोज २१ गते १३५ जना, असोज २२ गते ९० जना, असोज २३ गते ११८ जना, असोज २४ गते ९८ जना र असोज २६ गते १७७ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।
निर्वाचन अधिकारी साहले प्रष्ट पारेका छन् कि १६ वर्ष पूरा भएका र नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भए पनि, फागुन २१ का लागि घोषित प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्नेछ ।
निर्वाचन आयोगले यो पटक देशका जुनसुकै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा गएर नामावली दर्ता तथा अद्यावधिक गर्न मिल्ने व्यवस्था गरेको छ । तर, हालको समयमा सर्लाहीमा सदरमुकाम मलङ्गवास्थित जिल्ला निर्वाचन कार्यालयबाट मात्र नामावली दर्ता तथा अद्यावधिकको काम भइरहेको छ ।
जिल्लाभरका नागरिकलाई जिल्लास्थित कार्यालयमा पुग्नुपर्ने भएकाले समस्या भइरहेको छ। जिल्ला निर्वाचनअधिकारी साहकाअनुसार इलाका प्रशासन कार्यालयबाट समेत पहल गरेपनि तत्काल जिल्लास्थित कार्यालयबाट मात्रै काम गर्नु भनी निर्देशन आएको छ ।