सप्तरी । नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य तथा राजधानी दैनिक र प्राइम टेलिभिजनका सप्तरी संवाददाता मनोज माझीमाथि समाचार संकलनका क्रममा हातपात भएको छ ।
शम्भुनाथ नगरपालिका–११ मा सोमबार समाचार संकलनका क्रममा वडा अध्यक्ष राजकुमार साहको नेतृत्वमा आएको समूहले पत्रकार माझीमाथि आक्रमण गरेको र मोबाइलसमेत फुटाएको पीडित माझीले जानकारी दिएका छन् ।
उनका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा जग्गा घेरबार र भत्काउने घटनाको भिडियो लिँदै गर्दा आफूमाथि आक्रमण भएको हो। पत्रकार माझीले आफ्नो परिचयपत्र र प्रेस कार्ड देखाए पनि आक्रमणकारीहरूले सुनेनन् र उल्टै नियन्त्रणमा लिएर कुटपिट गरेको बताए ।
“अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा समाचार संकलन गर्न पुगेको थिएँ, तर यसरी आक्रमण हुन्छ भन्ने कुरा सोचेकै थिइनँ,” माझीले भने, “जनप्रतिनिधिकै हातबाट मार खानुपर्ला भन्ने त कल्पना पनि गरेको थिइनँ ।”
प्रहरीकै अगाडि हातपात हुँदा पनि प्रहरी मौन बसेको र कुनै कारबाही नगरेको पत्रकार माझीले गुनासो गरेका छन् ।