गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा जलेर नष्ट भएको वीरगंज महानगरपालिकाको भवन पुनः सञ्चालनमा सहजता ल्याउन विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना तथा सामाजिक संगठनहरूले सहयोगका लागि हात अघि बढाएका छन् ।
कार्यालय जलेर सम्पूर्ण सामग्री नष्ट भएपछि महानगरका दैनिक प्रशासनिक कार्यमा ठूलो समस्या उत्पन्न भएको थियो । तर पछिल्ला दिनमा प्राप्त सहयोगहरूले महानगर कार्यालय पुनःसञ्चालनमा सहजता ल्याएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार एन.पी.एल. सामाज कल्याण संस्थाले वीरगंज महानगरपालिकालाई सात थान कम्प्युटर डेस्कटप र तीन थान प्रिन्टर सहयोगस्वरूप प्रदान गरेको हो । वीरगंज महानगरपालिकाको कार्यालयमै आयोजित कार्यक्रममा संस्थाका निर्देशक अरविन्द अमात्यले सामग्री हस्तान्तरण गर्दै नगरवासीका लागि हुने सेवा पुनःसञ्चालनमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
त्यसैगरी, ब्रिटानिया नेपाल प्रा.लि.ले पनि आइतबार महानगरका लागि २० थान कुर्सी सहयोगस्वरूप उपलब्ध गराएको छ ।
यसअघि सूर्य नेपाल प्रा.लि.ले ल्यापटप, कम्प्युटर र प्रिन्टर सहयोग गरिसकेको छ भने औषधि उत्पादक संघ वीरगंज इकाईले समेत कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय सामग्री प्रदान गरिसकेको थियो ।
महानगरका मेयर राजेशमान सिंहले प्राप्त सहयोगहरूले कार्यालय सञ्चालन सहज बनाउनुका साथै कर्मचारीहरूको मनोबल वृद्धि भएको बताए । उनले भने, ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन समयमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि प्रेरणादायी छ । यसले महानगरलाई फेरि उठ्न हौसला दिएको छ ।’
उनका अनुसार, प्राप्त सहयोगका सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिने छन् । साथै, आगामी दिनमा अन्य आवश्यक सामग्री र पूर्वाधारका लागि निजी क्षेत्र र दातृ निकायहरूसँग सहकार्य गर्ने योजना महानगरको रहेको छ ।