वीरगंज | चालु आर्थिक वर्षको तीन महिनामा वीरगंज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य बराबरका दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा ९७ वटा मात्र विद्युतीय सवारीसाधन आयात भएका थिए । यस वर्ष आयातमा देखिएको उल्लेखनीय वृद्धि सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण र चीन सीमावर्ती नाकाबाट हुने ढुवानीमार्गको दयनीय अवस्थाका कारण भएको बताइएको छ ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको तीन महिनामा विद्युतीय जीप, कार र भ्यान आयातबाट मात्र रु ४५ करोड ७२ लाख राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा भने रु १४ करोड ४९ लाख मूल्यका ९७ वटा विद्युतीय सवारीसाधन आयात भई रु नौ करोड ११ लाख राजस्व संकलन भएको थियो ।
त्यस्तै, चालु आवको तीन महिनामा रु २८ करोड ७९ लाख मूल्य बराबरका दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल पनि वीरगञ्ज नाका हुँदै नेपाल भित्रिएका छन् । गत वर्षको सोही अवधिमा रु २१ करोड १७ लाख मूल्य बराबरका एक हजार चार सय ८१ विद्युतीय मोटरसाइकल मात्रै आयात भएका थिए ।
भन्सार कार्यालयका अनुसार विद्युतीय सवारीसाधन आयातमा देखिएको यो वृद्धिले वैकल्पिक ऊर्जा प्रयोगतर्फ सर्वसाधारणको रुचि बढ्दै गएको संकेत दिएको छ ।