बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बारामा मतदाता नामावली दर्ता गराउने सेवाग्राहीहरूको भीड दिनानुदिन बढ्दै गएको छ ।
राजनीतिक दलहरूले निर्वाचन तयारीमा सक्रियता देखाइरहेका बेला आम नागरिकहरू भने आफ्नो नाम मतदाता नामावलीमा समावेश गराउन व्यस्त भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत नवीन चौधरीका अनुसार निर्वाचनसम्बन्धी अध्यादेश असोज १० गते जारी गरेपछि हालसम्म तीन हजार ८५० जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये दुई हजार ४३७ पुरुष र एक हजार ४१३ महिला रहेका छन् ।
उहाँका अनुसार दैनिक दुई सयदेखि २५० जना सेवाग्राही नाम दर्ता, संशोधन तथा अद्यावधिकका लागि जिल्ला निर्वाचन कार्यालयमा आउने गरेका छन् । आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकको समय कार्तिक मसान्तसम्मका लागि तोकेको छ ।
यस्तै, हालसम्म १७८ जनाले नाम, ठेगाना र थरमा त्रुटि सच्याउने तथा अद्यावधिक गराउने काम गरेका छन् । बारा जिल्लामा हालसम्म कुल मतदाता संख्या चार लाख ४० हजार ५१५ पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मुकेशकुमार सिंहका अनुसार तीमध्ये एक लाख ९९ हजार ३४३ महिला, दुई लाख ४१ हजार १६१ पुरुष र ११ जना तेस्रो लिंगी रहेका छन्। यो तथ्यांक २०८२ असार मसान्तसम्मको हो ।
सिंहका अनुसार दरबन्दी अभावका बाबजुद पनि सहायक कर्मचारीहरूको सहयोगमा हरेक दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदाता नामावली दर्ता, संशोधन र अद्यावधिक कार्य नियमित रूपमा सञ्चालन भइरहेको छ ।
निर्वाचन नजिकिँदै जाँदा जनचासो र सहभागिता बढ्दै गएको देखिएको छ। स्थानीय बासिन्दा, युवा र वृद्ध सबै आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका छन् ।
निर्वाचन कार्यालयले नाम छुटेका नागरिकहरूलाई निर्धारित समयभित्र नाम दर्ता गर्न आग्रह गर्दै सूचना अभियान पनि सञ्चालन गरिरहेको छ ।