रौतहट । भारतको बिहार राज्यमा हुने विधान सभा चुनावका कारण रौतहट जिल्लाका सीमावर्ती नाका चार दिनका लागि बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार जारी गरेको सूचनामा भारतको सितामढी र पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको विधान सभा निर्वाचन यही कात्तिक २५ गते हुने भएकाले सुरक्षा व्यवस्थालाई ध्यानमा राखी सीमा नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपेश सागर भुसालका अनुसार शान्ति सुरक्षाको व्यवस्थापनका लागि शनिबार साँझ ८ बजेदेखि २५ गते बेलुका ६ बजेसम्म नेपाल–भारत सीमा नाकामा आवश्यक सेवाबाहेक सम्पूर्ण आवागमन पूर्ण रूपमा रोक लगाइनेछ ।
प्रशासनले सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र तोकिएको अवधिसम्म सीमा नाकाबाट आवागमन नगर्न अनुरोध गरेको छ ।
उक्त अवधिमा दुवै देशका सुरक्षाकर्मीहरू बीच सीमाक्षेत्रमा संयुक्त गस्तीसमेत बढाइने र अनावश्यक आवागमन नियन्त्रणमा राखिने तयारी गरिएको प्रशासनले जनाएको छ ।
