वीरगंज । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणका लागि सरोकार भएका सबै निकायबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार वीरगंज भन्सार कार्यालयमा बसेको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरी–तस्करी नियन्त्रणका लागि सबै निकायले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “झोलेपोके तस्करीलाई बाटोमा समात्नेभन्दा पनि जहाँ पुर्याइन्छ, त्यहीँबाट नियन्त्रण गर्नुपर्छ ।”
अर्थमन्त्री खनालले दैनिक गुजारा चलाउनका लागि सानो परिमाणमा सामान ल्याउने र वास्तविक तस्करी गर्नेबीच भिन्नता पहिचान गरी आवश्यक कारबाही अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
“सबै निकाय एउटै हौँ, परस्पर प्रतिस्पर्धी होइनौँ । राजस्वको जिम्मेवारी अर्थमन्त्रालयको मात्रै होइन, राज्यका सबै निकायको हो,” उहाँले भन्नुभयो, “त्यसैले हातेमालो गरेर काम गर्नुपर्छ र देखिएका कमीकमजोरीहरूलाई संयुक्त रूपमा समाधान गर्नुपर्छ ।”
अर्थमन्त्री खनालले स्थानीय प्रशासन, भन्सार कार्यालय, र तीनवटै सुरक्षा निकायबीच सूचना आदान–प्रदान र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षा निकायहरूलाई “बरामद संख्या बढाउनेतर्फ मात्र होइन, प्रणालीगत सुधार र रोकथाममा ध्यान दिन” आग्रह गर्नुभयो ।
सीमामा खटिएका कर्मचारी र राजस्वसँग सम्बन्धित अधिकारीहरूलाई सेवाग्राहीप्रति नम्र र सभ्य व्यवहार गर्न अर्थमन्त्री खनालले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हामी सेवाग्राहीका लागि खटिएका हौँ, त्यसैले उहाँहरूको भावनाअनुसार काम गर्नुपर्छ ।”
अर्थमन्त्रालयका महाशाखा प्रमुख उत्तरकुमार खत्रीले हालको समय चोरी–तस्करी नियन्त्रणका लागि उपयुक्त रहेको उल्लेख गर्दै राजनीतिक दबाबविना प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभयो ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि सबै निकायबीचको सहकार्य अत्यावश्यक रहेको बताए । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि संयुक्त प्रयासबिना राजस्व चुहावट नियन्त्रण सम्भव नहुने धारणा राख्नुभयो ।
त्यसैगरी, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सरोकार भएका निकायहरूसँग सहकार्य र समन्वय गर्दै योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
उहाँले थप्नुभयो, “गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व सङ्कलन १२ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।”