सिराहा | सिराहा जिल्लाको लहान नगरपालिका–३ मा नौ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ ।
लहानका प्रतिष्ठित उद्योगपति मुरारका परिवारका अभिनव मुरारकाले उक्त सिनेमा हल निर्माण गरेका हुन् । करिब १३८ जना दर्शक सामावेश गर्न सक्ने क्षमता भएको सो हल अत्याधुनिक प्रविधियुक्त रहेको जानकारी उनले दिए ।
अभिनव मुरारकाका अनुसार पश्चिममा वीरगंज र पूर्वमा विराटनगरपछि यस्तो स्तरको सिनेमा हल लहानमा सञ्चालनमा आएको हो । सिनेमा हलले लहानको आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने र करिब १८ किलोमिटर दक्षिणमा रहेका भारत विहारसम्मका दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
सिनेमा हलमा टिकट दर तीन सय, पाँच सय र नौ सय रुपैयाँ निर्धारण गरिएको छ। पहिलोपटक यति ठूलो लगानी र तुलनात्मक रूपमा महँगो टिकट दरका कारण सञ्चालन चुनौतीपूर्ण देखिए पनि यसले लहानको आर्थिक र सांस्कृतिक समृद्धिमा नयाँ आयाम थप्ने विश्वास जिल्ला उद्योग वाणिज्य सङ्घ लहान–सिराहाका अध्यक्ष विकास शारडाले व्यक्त गरे ।
सिराहा, सप्तरी र उदयपुर जिल्लाका दर्शकका लागि मनोरञ्जनको केन्द्रका रूपमा विकसित भएको कार्निभल सिनेमा हल सञ्चालन गर्न प्रशासनिक र सुरक्षाको पूर्ण प्रत्याभूति प्रदान गरिने विश्वास प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले व्यक्त गरे ।